काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनका बिषयमा धारणा तय गर्ने जनाएको छ ।
बिहीबार पार्टी कार्यालय धुम्वाराहीमा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङ लगाएतसंगको भेटका क्रममा राप्रपाका नेताहरुले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताएका हुन् ।
भेटका क्रममा एमाले नेताहरुले राष्ट्रपतिमा नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । भेटपछि एमाले नेतृ बिद्या भट्टराईले राप्रपाका नेताहरुसंग सकारात्मक रुपमा कुरा भएको र फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिले आवश्यक निर्णय गर्ने जानकारी पाएको बताएकी छिन् ।
त्यस्तै राप्रपा नेता डा. प्रकाश चन्द्र लोहनीले एमालेसंग सौहाद्र्धपूर्ण तरिकाले कुराकानी भएको र केन्द्रीय कार्य समितिले नै राष्ट्रपतिको बिषयमा निर्णय गर्ने बताएका छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिदै जाँदा एमालेले आफ्ना उम्मेदवारको पक्षमा बिभिन्न दलसंग मतदान गर्न आग्रह गरेको हो ।
यसअघि आजै एमालेले नेकपा एस र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेर राष्ट्रपतिमा नेम्वाङलाई भोट मागेको थियो ।





















