काठमाडौं । राष्ट्रपतिमा पार्टीका उम्मेदवारलाई भोट माग्दै नेकपा एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।
नेकपा एसको कार्यालयमा पुगेका राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरुले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गरेर सहयोग गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि फागुन २५ गते मतदान हुँदैछ । उक्त चुनावमा आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ उम्मेदवार छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पौडेलको समर्थक बसेका छन् भने सो पार्टीको हिजो बसेको सचिवालय वैठकले पौडेललाई मतदान गर्ने निर्णय समेत गरेको छ ।
एमाले नेताहरुले आजै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भेटेर भोट माग्ने बताइएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस वाहेकका पार्टीहरुलाई आफ्नो पार्टीका उम्मेदवार नेम्वाङलाई मत माग्दै पत्र पठाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफ्ना उम्मेदवार पौडेललाई मत माग्र्दै एमालेसहित सवै पार्टीलाई पत्र पठाएका थिए ।



















