काठमाडौं । नेपालमा विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् भने २६ जना अझै बेपत्ता भएका छन् ।
त्यसैगरी आजमात्रै ५० भन्दा बढीको मृत्यु भएको छ भने अहिलेसम्म २६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेल्धुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक–एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुईजनाको मृत्यु भएको छ ।
उहाँका अनुसार बाढी र पहिरोमा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् । गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी रहेको छ ।


















