काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा मेलाका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार मंगलबार बिहान करिब पौने ४ बजे झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।
चिसापानीमा लागेको मेलामा राति आगो तापेर बसेका दुई समूहका युवाबीच विवाद भएपछि झडप भएको थियो। झडपका क्रममा ढुंगामुढा गर्नुका साथै अगुल्टोसमेत प्रहार भएको प्रहरीले जनाएको छ।
झडप छुट्याउन पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण हुँदा प्रहरी नायब निरीक्षक (सई) सहित चार जना प्रहरी घाइते भएका छन्। झडपले उग्ररूप लिएर मानवीय क्षति हुन सक्ने अवस्था आएपछि प्रहरीले इन्सास राइफलबाट ८ राउण्ड हवाई फायर गरेको जनाएको छ।
झडपमा एक जना सर्वसाधारण घाइते भएका छन्। उनको उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी भइरहेको छ।
चिसापानीमा उक्त मेला जागरण युवा क्लबले आयोजना गरेको हो।




















