काठमाडौं । नेपालमा आजबाट देशव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । कोभिड विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइ सक्ने बताउनु भएको छ ।
नेपालमा कोभिड १९ विरुद्धको थप खोप भित्र्याउन अन्य संघ संस्थासँग पनि छलफल गरी रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले खोप अभियान शुरु भए पनि कोरोना पूर्णरुपमा नियन्त्रण नभएसम्म मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता काम जारी राख्न आग्रह पनि गर्नु भएको छ ।
कोरोनाविरुद्धको खोप अभियान शुरु भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुभकामना सन्देश पठाउनु भई अभियानको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नेपालले विश्वमा खोप अभियान शुरु भएको पहिलो चरणमै खोप ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्नु भएको छ ।

पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई खोप लगाउन शुरु गरिएको छ । केही दिनअघि भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याइएको थियो ।
खोप लगाएकाहरुलाई सरकारप्रति आभार व्यक्त गरेका छन् । स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर सरकारले खोप सेवा ल्याएकोमा आभार व्यक्त गर्दै आम नागरिकका लागि पनि आवश्यक खोपको प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।
खोप लगाएका चिकित्सकले आफूलाई बल्ल ढुक्क भएको बताउँदै अब कोरोना भाईरसको जोखिम विस्तारै निस्तेज हुने विश्वास व्यक्त गरेका छन् ।
खोप लगाउँदा कोरोनाबाट सुरक्षित हुनसकिने बताउँदै अनावश्यक हल्ला र अफवाहको पछि नलाग्न चिकित्सकहरुले आग्रह गरेका छन् । खोपबारे भएका अध्ययन र परीक्षणहरुले त्यसको प्रमाणिता पुष्टि गरेपछि मात्रै मानव शरिरमा लगाईने भएकोले सबैले खोप अभियानमा सरिक हुन उनीहरुले अपिल पनि गरेका छन् ।

खोप लगाईएकाहरुलाई एक महिनाको अन्तरालमा दुई डोज दिने चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप १० दिनभित्र लगाइ सक्ने जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।
सरकारले सात प्रदेशका ६२ वटा अस्पताल र १२० खोप केन्द्रबाट खोप लगाउन थालेको छ । सरकारले पहिलो चरणमा ३ प्रतिशत, दोस्रो चरणमा २० प्रतिशत र बाँकीलाई तेस्रो चरणमा लगाउने तयारी गरेको छ ।




















