काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा तथा पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।



















