काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट मात्र हेर्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपत्ति सुरु भएलगत्तै सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेर उद्धार, उपचार तथा राहतको काम अघि बढाएको बताए।
सरकारको तत्परतामाथि प्रश्न उठाउने ठाउँ आफूले नदेखेको उल्लेख गर्दै लामिछानेले घाइतेको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा पनि सरकारले सक्रियता देखाएको बताए।
‘कतिपय ठाउँमा बाटो छैन, सञ्चार छैन, मौसम अनुकूल छैन, तर ती सबै कठिनाइका बीच पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगेका छन्,’ उनले भने।
बाढी प्रभावित क्षेत्रको अवस्था र क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिइएको उनले बताए।
क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीलगायत अत्यावश्यक पूर्वाधार पुनःसञ्चालन गर्ने काम पनि अघि बढिरहेको उनको भनाइ छ।
‘राज्य कहाँ छ ?’ भन्ने प्रश्न उठाउनेहरूलाई जवाफ दिँदै लामिछानेले भने, ‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ।’
सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका नागरिकका लागि राज्य रातदिन खटिरहेको उल्लेख गर्दै उनले बाढीले बगाएका सडक र चुँडिएका पुलसँगै विपद्ले टुटाएको नागरिकको भरोसा जोड्ने प्रयास भइरहेको बताए।
‘रास्वपालाई विपद्मा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन’
सभापति लामिछानेले विपद्मा परेका नागरिकको पीडा र आक्रोशलाई लक्षित गरी सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा तुच्छ टिप्पणी नगर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
पीडितप्रति अमानवीय व्यवहार गर्ने व्यक्तिमाथि राज्यले कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ। प्रतिनिधिसभामा लामिछानेले सम्बोधन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह पनि बैठकमा उपस्थित थिए।
‘पीडामा रहेका नागरिकलाई कतैबाट अमानवीय दुर्व्यवहार हुन्छ भने त्यस्ता व्यक्तिमाथि हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्रै निकाल्ने होइन,’ उनले भने, ‘राज्य निर्मम र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला।’
रास्वपालाई विपद्मा परेका नागरिकलाई होच्याउने वा उनीहरूको पीडामाथि तुच्छ टिप्पणी गर्ने अन्ध समर्थक आवश्यक नरहेको उनले स्पष्ट पारे।
सामाजिक सञ्जालमा पीडितलाई लक्षित गरी अमर्यादित टिप्पणी गर्ने व्यक्तिलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्न सकिने चेतावनी लामिछानेले दिएका छन्।




















