काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ ।
धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले पशुपति क्षेत्रमा भएका विकास निर्माणका कामको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग भेटेर कामबारे जानकारी पनि लिनु भएको छ ।

पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उहाँले कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी हुनुभएको थियो ।
पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो ।
विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाइदिनुभएको थियो । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी हुनुभएको कोषले जनाएको छ ।




















