काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिनअघि बेलायताबाट फर्किएका तीन जनामा त्यस्तो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयका अनुसार हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको हो । केही दिनअघि बेलायतबाट आएका छ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई कोरोनाको नयाँ प्रजाति हो वा हैन पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको सहयोगमा पुस २७ गते हङकङको प्रयोगशालामा नमूना पठाइएको थियो ।
आज हङकङबाट नमूनाको रिपोर्ट आएकोमा बेलायतबाट फर्किएकामध्ये २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा बेलायत केही समयअघि भेटिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नयाँ प्रजातिको कोरोना संक्रमण देखिएकामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका र ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण नदेखिएको विज्ञप्तिमा जनाइएको छ ।





















