काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय सभामा प्रतिनिधित्व नभएकै कारण कानुन निर्माण गर्न नसकेको भन्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको अभिव्यक्तिमाथि प्रश्न उठाएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद कर्णले राष्ट्रिय सभाका कारण सरकारले कुन–कुन कानुन निर्माण गर्न नसकेको हो भन्ने स्पष्ट पार्न मन्त्री गौतमसँग माग गरिन्।
मन्त्री गौतमले केही दिनअघि राष्ट्रिय सभामा रास्वपाको बहुमत नभएका कारण जनताले चाहेअनुसार कानुन निर्माण गर्न नसकिएको टिप्पणी गरेकी थिइन्। त्यसप्रति असन्तुष्टि जनाउँदै कर्णले मन्त्रीले आफ्नो असक्षमता ढाकछोप गर्न राष्ट्रिय सभालाई दोष दिएको आरोप लगाइन्।
उनले प्रश्न गरिन्, ‘मन्त्रीज्यूले राष्ट्रिय सभामा हाम्रो प्रतिनिधित्व छैन, त्यसकारण हामीले कानुन बनाउन पाएनौँ भनेर मन्तव्य दिँदै हुनुहुन्छ। राष्ट्रिय सभाको कारण, प्रतिनिधिसभाको कारण वा कुन निकायको कारण उहाँले कुन–कुन कानुन बनाउन पाउनुभएन?’
सांसद कर्णले फैसला कार्यान्वयनमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्। सबै तहका अदालत हुँदाहुँदै पनि नागरिकले समयमा न्याय पाउन नसकेको भन्दै उनले न्याय सम्पादन र फैसला कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्।
मुद्दाको सुनुवाइ पटक–पटक सर्ने तथा न्यायिक प्रक्रिया लामो हुने गरेका कारण पनि नागरिकले समयमै न्याय पाउन नसकेको उनको भनाइ छ।
उनले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण तथा सुधारमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।




















