गोरखा । नेपाली सेनाले यस वर्ष पनि एकीकरण पदयात्रा शुरु गरेको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखाबाट काठमाण्डौसम्म हिडेको टोलीलाई आज विहान गोरखाबाट बिदाइ गरिएको छ ।
‘इतिहासको रक्षा गर्दै, सम्पूर्ण नेपालीलाई एक गराउन एकिकरण पदयात्राको अवधारणा ल्याएको नेपाली सेनाको पश्चिम क्षेत्रका पृतना पति बिनयबिक्रम राणाले बताएका छन् ।
सेनाले तत्कालीन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकीकरण पदमार्ग निर्माण गरिएको छ । आज गोरखाबाट हिडेको टोली पुस २७ गते सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन आइपुग्ने छ ।

गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारीमा एक कार्यक्रम गरी बिदाइ गरिएको ४० जनाको टोली टर्च, नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डासहित हिडेको रणसिंह दल गण गोरखाका गणपति उज्जल केसीले जानकारी दिएका छन् ।
उक्त टोलीमा गोरखा दरबारमा राखिएको गुरुजीको पल्टनका सैनिकहरु परम्परागत पोशाकमा सहभागी भएका छन् । पञ्चेबाजा, नेपाली सेनाको ब्यान्ड बाजा बजाउँदै हनुमान चौताराबाट निस्केको टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले, अश्राङ, बोर्लाङ्ग, धादिङ नुवाकोट हुँदै काठमाण्डौ पुग्नेछ ।

उनीहरुलाई विभिन्न ठाउँमा साँस्किृतिक झाकीसहित स्वागत एवं सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । गोरखाबाट हिडेको टोली धादिङबाट फर्किने छ भने धादिङको टोलीले नुवाकोट र नुवाकोटको टोलीले गोरखाबाट ल्याइएको टर्च र झण्डा लिएर २७ गते काठमाण्डौंमा हुने कार्यक्रममा सहभागी हुनेछ ।
गोरखा नगरपालिकाले पृथ्वीजयन्तीको अवसरमा सार्वजानिक विदा दिएर उत्सवको रुपमा मनाउने गरेको बताइएको छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले पदमार्गमा पर्ने गोरखा, धादिङ, नुवाकोट र काठमाण्डौ जिल्लाका जनप्रतिनिधिहरु मिलेर साझा कार्यक्रम बनाउन सुझाव दिएका छन् ।




















