काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।
ग्यास अभावमा चर्को आलोचना खेप्दै आएकी मन्त्री यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।
मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।
बजार व्यवस्थापन र समस्या समाधानका लागि रातदिन खटेर काम गर्नुपर्ने मन्त्री यादवले भने समस्याको समाधानभन्दा पनि भड्कावपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।
बुधबार बिहान उद्योग समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भनेकी थिइन् ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’
उनी त्यतिमै मात्रै रोकिएकी थिइनन् । उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् । ‘देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, २ वटा मात्रै भए पुग्छ’, उनले भनेकी थिइन् ।




















