काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले आन्दोलनका क्रममा क्षतिग्रस्त व्यापारिक तथा व्यावसायिक संरचना तीव्र गतिमा पुनर्निर्माण गरिसके पनि राज्यका प्रमुख संरचनाको पुनर्निर्माण भने सुस्त रहेको बताए।
सिंहदरबार, गृह मन्त्रालय र संसद् भवनको पुनर्निर्माण अझै अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गर्दै उनले राज्यका संरचना नै समयमै पुनर्निर्माण हुन नसक्दा रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण कसरी प्रभावकारी रूपमा हुन्छ भन्ने प्रश्न उठाए।
उनले भने, ‘भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत रूपमा उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ। तर सिंहदरबारको गेटबाट भित्र छिर्दा जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देखिन्छन्।’
संसद्को नयाँ भवनमा बजेट अधिवेशन सञ्चालन हुने भनिए पनि आफूहरूले अझै अस्थायी भवनबाटै बैठकमा सहभागी हुनुपरेको उनले बताए।
राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणको गति नै सुस्त रहेको अवस्थामा रसुवा र नुवाकोटका नागरिकले आफ्नो पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने भन्ने उनको प्रश्न थियो।
आचार्यले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी तत्काल पहिचान गरी कामको गति बढाउन सरकारसँग आग्रह गरे।
‘सिंहदरबार र सार्वभौम संसद्कै पुनर्निर्माणको गति यति सुस्त हुँदा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने? के–के नीतिगत र व्यावहारिक कमजोरी छन्, त्यो पत्ता लगाऔँ र पुनर्निर्माणको गतिलाई बढाऔँ, बिफोर इट्स टू लेट,’ उनले भने।




















