काठमाडौं । नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो।
ओमानका लागि जतिन्दर सिंहले २५ र जितेन रमानन्दीले १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ र बसिर अहमदले ४७ रन बनाए।
ओपनर देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे। ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५ र सन्दीप लामिछानेले ३ रन बनाए।
ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए। मुजीबुर अली र शकिल अहमदले एक–एक विकेट हात पारे।
अब नेपालले उपाधिका लागि युएईसँग खेल्नेछ। युएईले हङकङलाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।
फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।


















