काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रहरी परिचालन गरेर पक्राउ गर्न खोजिएकै दिन पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले प्रधानमन्त्रीलाई मन्त्री बर्खास्त गर्ने अधिकार भए पनि मन्त्रीलाई पक्राउ गर्न प्रहरी परिचालन गर्ने विषय गम्भीर रहेको बताए।
‘गौरीकुमारी यादवले त्यो दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन राति प्रहरी परिचालन गरिएको थियो,’ उनले भने, ‘प्रधानमन्त्रीलाई चित्त बुझेन भने मन्त्रीलाई बर्खास्त गर्न सक्छ। सबै अधिकार प्रधानमन्त्रीसँग हुन्छ। तर प्रधानमन्त्रीले मन्त्रीलाई पक्राउ गर्न प्रहरी पठाउने हो कि सचिवालयले पठाउने हो ?’
मन्त्रीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको विषयमा सचिवालयका केही व्यक्तिको भनाइ सुन्दा आफू आश्चर्यमा परेको पनि सिंहले बताए।
‘यो सचिवालयका केही साथीहरूको कुरा सुन्दा आफैँ झसंग हुन्छु कि म कुन देशको सांसद हुँ,’ उनले भने।
यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको तथा त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री वालेन्द्र शाहले यादवलाई तत्काल नियन्त्रणमा लिएर सोधपुछ गर्न नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएको बताइएको थियो।
सरकार संविधानअनुसार नचलेको आरोप लगाउँदै सिंहले सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाए।
सिंहले आफूहरू निर्वाचनमा जाँदा संविधान परिवर्तन गर्ने कुरा नगरेको उल्लेख गर्दै सरकारले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको आरोप लगाए।
‘संविधानअनुसार सरकार चलिरहेको छैन। हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ। चुनावी मैदानमा जाँदा हामी संविधान बदल्छौँ भनेका थिएनौँ। सरकारले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ,’ उनले भने।
प्रधानमन्त्री सांसदहरूप्रति उत्तरदायी हुनुपर्ने भन्दै सिंहले संसदीय शासन व्यवस्था सल्लाहकार केन्द्रित हुँदै गएको आरोप लगाए।
‘हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ। तर प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ। यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ, मैले बुझ्न सकेको छैन,’ उनले भने।
प्रधानमन्त्री सल्लाहकारमा बढी निर्भर भएको आरोप लगाउँदै उनले सरकारको केन्द्र सिंहदरबार हुनुपर्नेमा अन्यत्रबाट सञ्चालन भइरहेको टिप्पणी गरे।
‘सरकारको केन्द्र सिंहदरबार हुन्छ भन्ने मैले बुझेको छु। तर सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिरहेको छ,’ उनले भने।
सिंहले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक ९डीजी० लाई राति बोलाएर कन्चटमा पेस्तोल तेर्स्याइएको समेत आरोप लगाए। उनले उक्त घटनाबारे थप विवरण भने प्रस्तुत गरेनन्।
उनले मधेशको जगमा सरकार बनेको वताउँदै अहिले मधेशीलाई हेप्ने काम सरकारबाट भएको पनि बताए ।




















