काठमाडौं । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सुत्केरी भएकी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। घटनाबारे छानबिन गरी दोषी देखिए सम्बन्धित कर्मचारी वा पक्षलाई कारबाही गर्ने अस्पतालले जनाएको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले घटनाको वास्तविक तथ्य पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन समिति गठन गर्ने जनाएको हो। अस्पताल प्रशासनले गेटमै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनु संवेदनशील र गम्भीर विषय भएको भन्दै घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
अस्पतालका अनुसार बुधबार राति करिब २ बजे ३० वर्षीया बबिताकुमारी पासवान आफन्तसहित अस्पताल पुगेकी थिइन्। अस्पताल पुग्दा नै उनलाई प्रसूति व्यथा लागिसकेको थियो। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको थियो।
आवश्यक स्वास्थ्य जाँचसम्बन्धी रिपोर्ट नभएकाले अतिआवश्यक जाँच गर्न सुझाव दिइएको अस्पतालले जनाएको छ। त्यसपछि बबिता र उनका कुरुवा अस्पतालले उपलब्ध गराएको शय्यामा नरहेको बताइएको छ।
तर पीडित परिवारले भने आफूहरुसँग चेकजाँच गर्ने पैसा नभएकाले अस्पतालले भर्ना नलिएको दावी गरेका छन् । मंगलबार राति डेढ बजे व्यथा लागेपछि वविता श्रीमान् हरेराम र दुई जना सासु नाता पर्ने महिलालाई लिएर सिटी रिक्सामा अस्पताल पुगेकी थिइन् । त्यहाँ पुगेपछि अस्पतालको प्रसूति विभागमा खटिएकी स्टाफ नर्सले पहिले अल्ट्रासाउन्ड, प्रयोगशालाबाट रगत र पिसाब परीक्षण गर्न भनिन् । त्यसका लागि २ हजार ५००रुपैयाँ लाग्ने अस्पतालले बताएको थियो ।
बबिताले यसअघि आफ्ना तीन सन्तान सामान्य रूपमा जन्मिएको र कुनै चेकजाँच नगराएको बताउँदै आफूसँग पैसा नभएकाले चेकजाँच नगर्ने बताएपछि नर्सले जाँच नभई यहाँ प्रसूति गराउन मिल्दैन भन्दै बाहिर निस्किन हप्काएको उनको दाबी छ ।
बिहीबार बिहान करिब ४:४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी अस्पतालले पाएको थियो। प्रसूति भएपछि आमा र बच्चा सालसहित पुनः प्रसूति वार्डमा पुगेका थिए। त्यसपछि ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काट्नुका साथै प्रसूतिपछिको आवश्यक उपचार तथा स्याहारका लागि अस्पतालमै बस्न पटक–पटक आग्रह गरेको अस्पतालको भनाइ छ। तर, त्यसपछि पनि उनी अस्पतालबाट बाहिर गएको जनाइएको छ।
हाल बबिताकुमारी र नवजात शिशु दुवैलाई बेड नम्बर २२ मा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा आवश्यक स्याहार भइरहेको अस्पतालले जनाएको छ। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको भनाइ छ।
घटनापछि अस्पतालले आमा र बच्चाका लागि आवश्यक सम्पूर्ण उपचार, औषधि तथा अन्य स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै
अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि गम्भीर ध्यानाकर्षण जनाएको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज जाने भएको छ। मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीसँगै राजविराज जाने भएका छन्।
मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा स्पष्टीकरणसमेत मागेको छ। स्थलगत छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने र दोषी देखिए सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्ने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक अध्ययन तथा छानबिन अघि बढाएको जनाएको छ।




















