काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको प्रति चिनियाँ चिन्ता देखिएको छ ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रलाई एकता गराउनमा महत्वपूर्ण भूमिका खेलेको चीनले अहिले पनि एकता कायम रहोस् भन्ने चाहना राखेको देखिन्छ ।
यसैवीच चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् । चिनियाँ राजदूत होउ यान्छीले नेकपाका शीर्ष नेताहरुलाई भेटेर उपमन्त्री गुओको भ्रमणको बारेमा जानकारी गराएको बताइएको छ ।
उपमन्त्रीसँगै एक प्रतिनिधि मण्डल आइतबार काठमाडौँ आउने छ । उपमन्त्री गुओले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अर्को समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ ।
गुओ येचौ ३३ वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत छन् । यसबीचमा बुल्गेरियाका लागि चिनियाँ राजदूत समेत रहेका गुओ सन् २०१४ देखि अन्तर्राष्ट्रिय विभागमा उपमन्त्रीका रुपमा कार्यरत छन् ।
विभागका चार जना उपमन्त्रीमध्ये गुओ सबैभन्दा सिनियर हुन् । अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ ताओ छन्, जो राष्ट्रपति सी चिनिफङको गत वर्ष भएको भ्रमणको तयारीको क्रममा नेपाल आएका थिए । अन्तर्राष्ट्रिय विभागका मन्त्री र उपमन्त्रीहरूको पदीय मर्यादाक्रम, सुविधा र जिम्मेवारी राज्यपरिषदका विदेशमन्त्री र उपमन्त्रीहरूको बराबर हुन्छ ।
भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलपछि सेना प्रमुख, विदेश सचिव र सत्तारुढ भाजपाका नेताको भ्रमण लगत्तै नेपालमा भएका संसद विघटन र नेकपा विभाजनका घटनालाई बेइजिङले विभिन्न हिसावले विश्लेषण गरिरहेको देखिन्छ । उनको चार दिने यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । गुओ यसअघि सन् २०१८ मा पनि नेपाल आएका थिए ।
विगतमा पनि नेकपाभित्र विवाद चर्किदा काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेताहरुलाई भेटेर एकता जोगाउन दवाव दिदै आएकी थिइन् । उनले सरकारको नेतृत्व परिवर्तन गरेर भएपनि पार्टीको एकता जोगाउन नेताहरुलाई सल्लाह दिएकी थिइन् ।
प्रतिनिधि सभा विघटन सँगै नेकपा फुटिसकेको छ । दुई समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटि वैठक गर्नुका साथै एकअर्कालाई जिम्मेवारीबाट हटाइसकेको छन् । अब निर्वाचन आयोगबाट कुन पक्षले आधिकारिता पाउँछ भन्न मात्र हो ।
प्रतिनिधिभा विघटन हुनुका साथै नेकपाभित्र चरम विवाद भइरहेका बेला राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन् ।



















