काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेको हो। नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि बुधबारको तुलनामा कमी आएको छ।
यसदिन ३४१ वटा स्क्रिप्सको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर ४ अर्ब ९ लाख ७१ हजार ८९८ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा अडिएको थियो। सो दिन ४ अर्ब १९ करोड मूल्य बराबरको कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये ६८ वटा स्टक्सको मूल्य बढ्दा १९९ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन लिबर्टी इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। दोल्टी पावरको सेयर ८.२२ प्रतिशतले बढ्दा अपर लोहोरे खोला हाइड्रोपावरको ७.०२ र इनर्जी नेपालको ५.४६ प्रतिशतले बढ्यो।
सिन्धु विकास बैंकका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो बैंकको सेयर १४.९८ प्रतिशतले घट्यो। यस्तै प्रभु सेलेक्ट फण्डको सेयर १०.२२ प्रतिशतले घट्दा प्रभु स्मार्ट फण्डको ९.३० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रह्यो। सो कम्पनिको ४५ करोड मूल्य बढिको सेयर कारोबार भयो। रिलायन्स स्पिनिङ्गस मिल्सले २१ करोडको कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १९ करोड,नेपाल एसबीआई बैंकले १६ करोड र रिडी पावरले ११ करोड मूल्य बराबरको कारोबार गरे।
दोहोरो अंकले घटेको सेयर बजारमा १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।




















