काठमाडौं । नेपालको एकदिने ‘वर्किङ भिजिट’ मा आउनु भएका चीनका स्टेट काउन्सीलर तथा रक्षामन्त्री जनरल वेई फेङ्गहे नेपाली सेनाको हेडक्वारमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी हुनु भएको छ ।
रक्षामन्त्री जनरल वेईको सम्मानमा आयोजना गरिएको सम्मान गारत ग्रहण तथा निरिक्षण गर्नु भएको थियो । तत्पश्चात् उहाँले प्रधान सेनापति पूर्णचन्द्र थापासंग प्रधानसेनापति कार्यालयमा भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो ।

सो भेटवार्ता पछि उहाँ सहीतको प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य-दृश्य सामग्री प्रस्तुत गरिएको थियो । चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो । जसमा मुख्यतस् कोभिड-१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको बताइएको छ । छलफलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

रक्षामन्त्री जनरल वेई र उहाँको प्रतिनिधिमण्डलले दुवै विषयहरुलाई सकारात्मक रुपमा लिइ उच्चस्तरीय भ्रमण लगायतका द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने बारेमा आश्वासन दिनु भएको बताइएको छ । त्यसै अवसरमा जनरल वेईले नेपाली सेनाको कोभिड(१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गर्नु भएको पनि बताइएको छ।
यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।



















