काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गरेका छन् । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो । किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उनको योगदानको कदर गर्दै पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोवास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेकामा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण उनको योगदानको चर्चा गरेर मनाउन लागिएको किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए ।
सभ्य र समुन्नत समाजको निर्माण गर्न सकिने राष्ट्रपतिको विश्वास
राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा पनि लिन सकिने जनाउँदै राष्ट्रपतिले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वा व्यक्त गर्नुभएको छ ।
फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।
फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले महागुरु फाल्गुनन्द लिङ्देन जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्नुभएको छ । उहाँले फाल्गुनन्दप्रति उच्च सम्मान प्रकट पनि व्यक्त गर्नुभएको छ ।
समाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्न्नुभएको छ, ‘राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु ।’



















