काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार आज थपिएका समेत गरेर संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ।
मन्त्रालयका आज देशभर १ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ जना पुगेका छ ।
मन्त्रालय अनुसार हाल देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित मध्ये ८३ जना भेन्टिलेटरमा र ४११ जना संक्रमित आइसियूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २०४ जना आइसियू र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आइसियू र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
त्यस्तै सुदुरपश्चिममा १५ आइसियू र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आइसियू र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियू उपचाररत रहेका छन्।
मन्त्रालयका अनुसार आइतबार ४८० जना संक्रमित आइसियू र भेन्टिलेटरमा थिए भने शनिबार ४४१ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत थिए। पछिल्लो केही दिन यता गम्भीर कोरोना संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयकै तथ्यांकले पनि देखाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या १ हजार १२६ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ।


















