काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहनु भएको भारतीय स्थलसेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गर्नु भएको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहकाबीच उहाँलाई उक्त दर्जा प्रदान गरिएको हो । सो समारोहमा जनरल नरवणेलाई खड्ग तथा सनद–पत्र पनि प्रदान गरिएको थियो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरु सरिक हुनुहुन्थ्यो ।
विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल के एम करिअप्पा हुनुहुन्छ । उहाँलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो ।
गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभएको थियो ।

नेपाल–भारतबीचको अनुपम साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।
सो समारोह पश्चात् राष्ट्रपति भण्डारीसँगको भेटवार्तामा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मानप्रति विशेष आभार प्रकट गर्नु भएको छ । साथै उहाँले द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गर्नुभएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।



















