काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत त्रिभुवन विमानस्थलमा ओर्लिएका नवरणे सोल्टी होटलमा बसेका छन् ।
नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको त्रिभुवन बिमानस्थलका एक कर्मचारीले बताएका छन् ।
प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणमा नेपाल आएका नरवणे शुक्रबार स्वदेश फर्किने छन् । भ्रमण टोलीमा उनकी श्रमिती तथा भारतीय सेनाको श्रीमती संघ की अध्यक्ष श्रीमती विना नरवणे पनि आएकी छिन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्मा र श्रीमती सुनिता शर्माले स्वागत गरेका थिए ।

सनोध्यक्ष नरवणेलाई भोलि राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
शीतल निवासको कार्यक्रमअघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ भने त्यसपछि जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन् ।
त्यस्तै भोलि प्रधानसेनापति पूर्णचन्द्र थापासँग नरवणेले औपचारिक सम्वाद गर्ने कार्यक्रम छ । जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग पनि उनले छलफल समेत गर्नेछन् । नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ ।
भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको र त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको बताइएको छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।



















