काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार रौतहटको पर्रोहा नगरपालिका– ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार मृतक पुरुषका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएपछि अन्त्येष्टिमा सहभागी भएर फर्किएका उनलाई क्वारेन्टिनमा राखिएको थियो । त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
यसैवीच बुधबार नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार बुधबार ६ सय ९७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।



















