काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्ने प्रयास भइरहेको बताएका छन्।
शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को २७औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूबाट प्राप्त उपलब्धि निमिट्यान्न पार्ने षड्यन्त्र भइरहेको दाबी गरेका हुन्।
उनले यस्तो अवस्थामा शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ सङ्कल्प र ऊर्जाका साथ अघि बढ्नुपर्ने बताए।
प्रचण्डले भने, ‘प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ सङ्कल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ।’
शहीदहरूको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको उल्लेख गर्दै उनले त्यसका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताए।
शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा दिएको प्रचण्डले स्मरण गरे। उनीहरूको बलिदानले जनयुद्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
२०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्वपूर्ण रहेको पनि प्रचण्डले बताए।




















