काठमाडौं । जेनजी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आयोजित कार्यक्रममा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ।
कार्यक्रमका क्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएका एक सहिदकी आमाले आफूहरूले अझै न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन्। त्यसक्रममा केही स्वयंसेवकले उनलाई बोल्न रोक्न खोजेपछि जेनजी आन्दोलनका घाइते पवन खड्काले महिलाको पक्षमा बोल्दै आफूले आफ्ना कुरा राख्न पाउनुपर्ने बताएका थिए।
त्यसपछि ती युवकले गृहमन्त्री सुदन गुरुङको आलोचना गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई भ्यानमा राखेर कार्यक्रमस्थलबाट लगेका थिए।
नियन्त्रणमा परेका युवकले आफू जेनजी आन्दोलनका क्रममा घाइते भएको र गोली लागेको बताएका छन्। कार्यक्रममा गृहमन्त्री गुरुङसहित अन्य व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।




















