काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध कमजोर भएकै कारण पार्टी अहिले कमजोर अवस्थामा पुगेको बताएका छन्।
एमालेको मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपमहासचिव ज्ञवालीले पार्टीको कार्यशैली जनपरिचालनभन्दा सरकारी शैलीतर्फ केन्द्रित हुँदा जनतासँग दूरी बढेको बताए।
उनले पार्टी नेताहरू सरकारी र राजसी ठाँटमा रमाउन थालेको टिप्पणी गरे।
‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो, राजसी भयो,’ ज्ञवालीले भने, ‘हाम्रो ध्यान सिडिओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो। यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो। यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ।’
फागुनमा भएको निर्वाचनमा एमालेले कमजोर नतिजा ल्याउनुमा पार्टीभित्रको आन्तरिक एकतामा देखिएको समस्या पनि प्रमुख कारण रहेको ज्ञवालीले बताए। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समूह तथा उपसमूह निर्माण र निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्न नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ।
‘गतवर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो तर यसवर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ,’ ज्ञवालीले भने, ‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो।’
पार्टी जनताका मुद्दाबाट टाढिँदा संविधान मिचिँदा वा पार्टी नेतामाथि सरकारले ज्यादती गर्दा समेत जनता सडकमा नआएको उनले बताए।
ज्ञवालीले २०७९ को निर्वाचनपछि जनताले एमालेलाई सत्ताभोगी पार्टीका रूपमा बुझ्न थालेको बताए। २०७९ देखि २०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण परिवर्तन गरेको उनले उल्लेख गरे।
‘२०७९ देखि ०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण बदल्यो। पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो। केही महिनामै त्यो सरकार छोड्यो। फेरि प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो,’ उनले भने।
सत्ता समीकरण परिवर्तनको कारण जनतालाई स्पष्ट रूपमा बुझाउन नसकिएको भन्दै ज्ञवालीले त्यसको जवाफ अझै जनताले खोजिरहेको बताए।
‘सरकारमा भित्रिने वा बाहिरिने कारण हामीले जनतालाई भनेनौँ। आखिर प्रचण्ड सुध्रिएर हामीले सत्तामा गएका थियौँ कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन्,’ उनले भने।
प्रचण्ड नेतृत्वको सरकारबाट हठात् बाहिरिएर कांग्रेससँग सहकार्य गर्नुले पनि जनतामा एमालेप्रति नकारात्मक सन्देश गएको ज्ञवालीले बताए।
एमालेले अब जनताका समस्याको पहिचान, उठान र समाधान दिनुपर्नेमा उनले जोड दिए। पार्टीको भेला महोत्तरीको लालगढमा जारी छ।




















