काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत भदौ २३ गते भएको जेनजी आन्दोलन ठूलो षड्यन्त्रमार्फत ‘हाइज्याक’ गरिएको दाबी गरेका छन्।
एक कार्यक्रममा सहभागी हुन मंगलबार सिन्धुपाल्चोक पुगेका प्रचण्डले जेनजी आन्दोलनमा घुसपैठ गर्ने र आन्दोलनलाई अपहरण गर्नेहरू को थिए भन्ने विषयमा गहिरो अध्ययन आवश्यक रहेको बताएका हुन्।
‘त्यो घुसपैठ गर्ने को थिए ? र तिनले अहिले देशलाई कहाँ पुर्याए ? भन्ने कुरा त्यो विन्दुबाट गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘मलाई विश्वास छ, समयको साथमा सत्यहरू उद्घाटित हुँदै जानेछन्।’
प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोग तथा सुरक्षा निकायहरूले तयार पारेका जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनहरू सरकारमा रहेकाहरूले गायब पारेको आरोपसमेत लगाए।
‘म सुन्दै छु, आज मेरो कसैप्रति आरोप लगाउन अहिले चाहेको छैन। तर म यो फेरि भन्न आवश्यक ठानेको छु कि ती प्रतिवेदनहरू गायब पारिएका छन्,’ उनले भने, ‘अहिले सरकारको जिम्मेवारीमा हुनेहरूले गायब पारेका छन् भन्ने आरोप लाग्ने गरेको छ। सत्यतथ्य के हो ?’
उनले भदौ २४ गते भएको विध्वंस र त्यसमा संलग्न व्यक्तिहरूबारे समेत प्रश्न उठाए।
प्रचण्डले भदौ २३ गते नै आन्दोलनमा घुसपैठ भएको र आन्दोलन ‘अपहरण’ भएको भन्दै घर फर्किन आग्रह गर्नेहरूबाट भदौ २४ गतेको विध्वंस भएको हुन नसक्ने दाबी गरे।
‘२३ गते नै घर फर्किनू, घुसपैठ भयो, अपहरण भयो हाम्रो आन्दोलन भन्नेहरूले त पक्कै चलाएको होइन,’ उनले भने।
भदौ २३ र २४ गतेका घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा उनले जोड दिए।
उनले जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा घटनाका पछाडि भएका गतिविधि, घुसपैठ र त्यसपछिका घटनाबारे गम्भीर समीक्षा तथा अनुसन्धान आवश्यक रहेको बताए।




















