साँखु, त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो ।
परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए ।
पशुपति बहुमुखी क्याम्पसबाट स्नातक दोस्रो वर्षको नियमित परीक्षा दिएका सिन्धुपाल्चोकका गणेश दाहालको २०७४ मा परीक्षाफल प्रकाशित हुँदा चार विषयमा उतीर्ण र एउटा अनुपस्थित भनेर नतिजा आएपछि उनी छक्कै परे ।
नियमित पाँचवटै विषयको परीक्षा दिएका उनले एउटा विषयमा अनुपस्थित रहेको भन्ने जानकारी पाएपछि परीक्षामा सामेल भएको हाजिर र मार्कसिटसहित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा धाए तर, त्रिविले वास्ता नगरेपछि उनले हेलो सरकारमा उजुरी दिए । उजुरीपछि त्रिविले परीक्षाको उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी गर्ने आश्वासन दियो । तर परीक्षा दिएको एक वर्षसम्म पनि यसको अत्तोपत्तो छैन ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा यस्तै समस्या लिएर पुग्नुभएको थियो, जनकपुरका श्यामसुन्दर यादव । उहाँकी छोरी चन्द्रिका कुमारीले स्नातक परीक्षा पास गर्नुभयो, मार्कसिटमा पनि पास भएकै आयो तर, ट्रान्सक्रिप्टमा गयल अर्थात ‘एब्सेन्ट’ देखायो ।
छोरीको बिगे्रको लब्धाङ्कपत्र सच्याएर ट्रान्सक्रिप्ट लिन बल्खु धेरैपटक गए । तर कर्मचारीले पनि राम्रोसँग नबुझाएको र हैरानी खेप्नुपरेको उहाँको भनाइ छ । माथिका घटना त केही प्रतिनिधिमूलक मात्र हुन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुकै गल्तीका कारण विद्यार्थीले हैरानी मात्रै खेप्नुपरेको छैन, उनीहरूको भविष्य नै अन्योलमा पर्ने अवस्था सिर्जना हुन पुगेको छ ।
हाजिरीसहित परीक्षा दिँदा पनि नतिजा नआएर परीक्षा नियन्त्रण कार्यालय पुग्ने सयौं विद्यार्थीलाई तपार्इँको उत्तरपुस्तिका हराएको छ, फेरि परीक्षा दिनुहोस् भन्दै कर्मचारीले पन्छाउने गरेका छन् । त्रिभुवन विश्वविद्यालय, देशभरीका अधिकांश विद्यार्थीकोे भविष्य जोडिएको ठाउँ पनि हो ।
देशको पुरानो यो विश्वविद्यालयबाट मान्यताप्राप्त देशका विभन्न भू–भागमा सोही अन्तर्गतका क्याम्पस सञ्चालनमा छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी भइरहेको बताउनुभयो । ‘उत्तरपुस्तिका खोजी गरिरहेको छौं । अहिलेसम्म फेला परेको छैन, फेला परेपछि सम्पर्क गर्ने छौं ।”
परीक्षा नियन्त्रण कार्यालयले सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा रहेर विद्यार्थी तथा सङ्गठनभित्रका थुप्रै कार्य गर्नेगर्दछ । यस शाखालाई जिम्मेवारीको हिसाबले विद्यार्थीसँग सबैभन्दा नजिक रहेर विद्यार्थीको कार्यसम्पादन गर्नुपर्ने केन्द्र भनेर बुझ्न सकिन्छ । तर यस्तो जिम्मेवार निकायको सानो गल्तीका कारण सयौँ विद्यार्थीको भविष्य अन्योल बनेको छ ।
परीक्षा नियन्त्रण कार्यालयबाट हुने कार्य ट्रान्सक्रिप्ट वितरणको हैरानी त छदैछ, त्यहाँ भएका कमी कमजोरीका कारण रजिस्ट्रेशन नम्बर पनि गलत आउँदा तथा उत्तरपुस्तिका हराउनु लगायतका थुप्रै हैरानी विद्यार्थीले नै खेप्ने गरेका छन् । “देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा बेथितिको जालो वर्णन गरी साध्य छैन । अझै त्रिविकै परीक्षा नियन्त्रण कार्यालय बल्खु त विद्यार्थीको ट्रान्सक्रिप्ट, मार्कसिट, रजिस्ट्रेशन र उत्तरपुस्तिका सन्र्दभमा कर्मचारीको चरम लापरवाहीदेखि धाकधम्कीसम्मको सामना गर्नुपर्ने हुन्छ”–एक विद्यार्थीले भने ।
हरेक वर्ष परीक्षाफल प्रकाशित हुँदा परीक्षा दिँदा अनुपस्थित भनेर बल्खुमा गुनासो गर्न आउनेको सङ्ख्या निकै देखिन्छ । कसैको ट्रान्सक्रिप्टमा, कसैको रजिस्ट्रेशन नम्बर फरक, त कसैको नाम नै गलत आउने गर्दछ । परीक्षा नियन्त्रण कार्यालयले गरेका यस्ता गल्तीको विद्यार्थी स्वयंम आफैले पुनः शुल्क तिरेर सच्याउनुपर्ने अवस्था छ ।
विद्यार्थीले नगरेका गल्तीमा पनि पुनःशुल्क तिर्नुपर्ने तर पनि सजिलासँग काम नहुने गरेको अवस्था त्रिविविमा रहेका छन् । यति मात्र होइन, त्रिविमा विचौलिया प्रवृति पनि फस्टाउँदै गएको छ । सम्पूर्ण प्रक्रिया पु¥याएर विद्यार्थीले आफ्नो मार्कसिट लगायतको प्रमाणपत्र पाउँ भन्दै निवेदन दिँदा समेत प्रमाणपत्र पाउँदैनन् । कर्मचारीले केही न केही सानो कमजोरी देखाएर पन्छिदै केही दिनको भाका राख्ने गरेको वानेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत सिन्धुलीका सुशील घिमिरे बताउनुहुन्छ ।
परीक्षा नियन्त्रण कार्यालय जस्तो देशभरका सेवाग्राही आउने शाखामा आवश्यक सूचना पाटी समते छैनन् । कुन काम कुन कोठाबाट हुन्छ भन्ने सामान्य जानकारीसहितको कुनै पनि बोर्ड त्यहाँ भेटिदैनन् ।
देशकै पुरानो र ठूलो विश्वविद्यालयको परीक्षा नियन्त्रण शाखाले कर्मचारी व्यवस्थापनलाई सबल, सुदृढ र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।
–आदित्य दाहाल