काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ ।
संसदीय सुनुवाइ समितिको बैठकमा सदस्यहरूले शर्मासँग विभिन्न विषयमा प्रश्न गरेका थिए । उनले ती प्रश्नहरूको जवाफ दिएपछि समिति सभापति बोधनारायण श्रेष्ठले पूरक प्रश्नका लागि समय दिएका थिए ।
सदस्यहरूबाट थप प्रश्न नआएपछि सभापति श्रेष्ठले सुनुवाइ प्रक्रिया सम्पन्न भएको जानकारी गराएका हुन् । समितिले केहीबेरमै निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ ।
सुनुवाइका क्रममा शर्माले सर्वोच्च अदालतभित्र गुटबन्दी रहेको भन्ने आरोप अस्वीकार गरे । ‘सर्वोच्चमा गुटबन्दी केही पनि छैन,’ उनले समितिमा भने ।
आफूविरुद्ध परेको रिट तथा बार–बेन्च विवादबारे उठेका प्रश्नको जवाफ दिँदै उनले अदालतभित्र बार र बेन्चबीच द्वन्द्व नभएको दाबी गरे । ‘बार र बेन्चको द्वन्द्व भएको छैन । बार र प्रशासनबीच केही भएको जस्तो देखिन्छ,’ उनले बताए ।
शर्माले आफूमाथि लागेको ‘नेपो बेबी’ आरोपको पनि खण्डन गरेका छन् । उनले योग्यता र क्षमताकै आधारमा आफू अघि बढेको दाबी गर्दै पारिवारिक सम्बन्ध भएकै आधारमा नियुक्ति हुन नहुने भन्ने मान्यता सही नभएको बताए ।
‘पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन,’ उनले सुनुवाइका क्रममा जवाफ दिएका थिए ।




















