वीरगञ्ज । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं लाई थप तीन दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
पर्सा जिल्ला अदालतले सोमबार राति पक्राउ परेका प्रसाईँलाई विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरसम्बन्धी आरोपमा थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको हो ।
पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार प्रसाईँले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका अभिव्यक्ति दिई घृणा तथा द्वेष फैलाएको आरोप छ । साथै, जातजाति र समुदायबीचको सुमधुर सम्बन्धमा असर पार्ने खालका अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
उनलाई सोमबार वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढाइरहेको छ ।




















