काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ ।
मंगलबार बसेको संसदीय सुनुवाइ समिति को बैठकले सुनुवाइ प्रक्रिया सम्पन्न गरेपछि शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
अब संसद् सचिवालयले उक्त निर्णयबारे राष्ट्रपति कार्यालय लाई जानकारी पठाउनेछ । त्यसपछि शर्माको औपचारिक नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।
यसअघि संवैधानिक परिषद्ले न्याय परिषद्बाट सिफारिस गरिएका ६ जनामध्ये सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
तर वरिष्ठताको परम्परा मिचेर शर्माको नाम सिफारिस गरिएको भन्दै नेपाल बार एसोसिएसन लगायत विभिन्न पक्षले विरोध जनाउँदै आएका छन् । उनीहरूले यसबाट न्यायपालिकाको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठेको बताएका छन् ।
सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल वरीयताका आधारमा प्रधानन्यायाधीशको मुख्य दाबेदार मानिएकी थिइन् ।
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्दै परिषद्को ६ सदस्यीय संरचनामा ३ जना सदस्य उपस्थित भए पनि निर्णय गर्न सकिने व्यवस्था गरेको थियो । सोही अध्यादेशपछि बसेको परिषद् बैठकले शर्माको नाम सिफारिस गरेको हो ।
शर्माको सिफारिसप्रति प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले असहमति जनाएका थिए । उनीहरूको फरक मतकाबीच संवैधानिक परिषद्ले शर्माको नाम अनुमोदन गरेको थियो ।




















