काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै एमाले सांसद राजेन्द्र राईले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।
अर्थमन्त्री उपस्थित नभएको भन्दै सांसद राई रोष्ट्रममा उभिएर विरोध जनाइरहेका थिए । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
विरोधका क्रममा राईले प्रधानमन्त्री र अर्थमन्त्री दुवै सदनमा उपस्थित नहुने हो भने संसद् कसरी सञ्चालन हुन्छ भन्दै प्रश्न उठाए । उनले ‘देश चलाउने हिम्मत हामीसँग छ, दिनुस्’ भन्दै सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे ।
यसअघि सत्तारुढ दलका सांसद अमरेश सिंहले पनि बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित रहेको भन्दै असन्तुष्टि जनाएका थिए ।
उनले परम्परा तोड्ने नाममा स्थापित संसदीय अभ्यास भत्काइएको आरोप लगाउँदै ‘यदि सबै कुरा भत्काउने हो भने सिंहदरबार पनि भत्काउनुपर्छ’ भन्ने चेतावनी दिएका थिए ।




















