काठमाडौं । बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री अनुपस्थित भएको भन्दै सांसद अमरेश सिंहले संसद्मा असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले ‘क्रमभंग’ को नाममा स्थापित संसदीय परम्परा भत्काइएको आरोप लगाए ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री अनिवार्य रूपमा उपस्थित रहने संसदीय अभ्यास रहेको उल्लेख गरे । उनले अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेकोप्रति आपत्ति जनाउँदै भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने ? बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । पछिल्लो २० वर्षमा पहिलो पटक अर्थमन्त्रीबिनाको छलफल देख्दै छु ।’
उनले नयाँपनको नाममा सबै संरचना भत्काउन खोजिएको टिप्पणी गर्दै ‘यदि सबै कुरा भत्काउने हो भने सिंहदरबार, प्रधानमन्त्री र मन्त्री पद पनि भत्काउनुपर्छ’ भने ।
सिंहले मधेशको मतबाट बनेको सरकारले मधेशलाई प्राथमिकतामा नराखेको आरोपसमेत लगाए । उनले मधेशका लागि विशेष प्याकेज ल्याइने अपेक्षा गरेको भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए ।
‘प्रत्यक्ष र समानुपातिक दुवैमा सबैभन्दा धेरै मत मधेशले दिएको हो । तर मधेशलाई न सत्तामा समेटिएको छ, न नियुक्तिमा । मधेश अहिले विस्फोटको स्थितिमा छ, त्यो विस्फोट हुनुअघि उपचार गर्नुपर्छ,’ उनले भने ।
सरकारले मधेशका मुद्दा सम्बोधन गर्न नसकेको भन्दै उनले चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।



















