काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन्। शीतल निवासमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई सपथ गराएका हुन्।
त्यसअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएका थिए। उनी मुलुकको ३३ औं प्रधानन्यायाधीश बनेका हुन्।
संवैधानिक परिषदले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो। संवैधानिक परिषदले चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
पर्साको वीरगञ्जमा २०२७ असार ४ गते जन्मिएका शर्मा कानुन व्यवसाय र न्यायिक क्षेत्र दुवैमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। उनले नेपाल ल क्याम्पसबाट बीएल अध्ययन पूरा गरेका हुन्। त्यसपछि भारतको पुणे विश्वविद्यालयबाट एलएलएम तथा त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि हासिल गरेका छन्।
डा. शर्मा २०५२ सालदेखि कानुन व्यवसायमा संलग्न रहँदै आएका छन्। उनले विभिन्न कम्पनी तथा संस्थामा कानुनी सल्लाहकारको भूमिकासमेत निर्वाह गरेका छन्। न्यायिक क्षेत्रमा उनले २०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म तत्कालीन पुनरावेदन अदालत बुटवल र पाटनमा न्यायाधीशका रूपमा काम गरेका थिए।
उनी २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। कानुन व्यवसाय, श्रमकानुन अध्ययन र न्यायिक अनुभवका कारण उनलाई न्याय क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छ।




















