काठमाडौं । कानून व्यवसायीहरूले सर्वोच्च अदालतमा विकसित पछिल्लो घटनाक्रमको विरोध गर्दै मंगलबार दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन् ।
नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा गरिएको प्रदर्शनमा कानून व्यवसायीहरूले न्यायपालिका संकटतर्फ उन्मुख भएको भन्दै सांकेतिक विरोध जनाएका हुन् ।
बार एसोसिएसनले सोमबार बसेको बैठकबाट अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै विरोधस्वरूप लालटिन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेर प्रदर्शन गरिएको हो ।
नेपाल बारले प्रस्तावित प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएको छ । वरिष्ठताको आधार मिचेर चौथो वरीयताका न्यायाधीश मनोज शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै बारले विरोध गरिरहेको छ ।
बारको माग भने वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान लाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने रहेको थियो ।
तर संवैधानिक परिषद्ले न्यायाधीश मनोज शर्माको नाम सिफारिस गरिसकेको छ भने उनको संसदीय सुनुवाइ प्रक्रिया पनि सुरु भइसकेको छ ।



















