काठमाडौं । साफ यु-२० च्याम्पियनसिप २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपाल बंगलादेशसँग हार्दै प्रतियोगिता सकेको छ । माल्दिभ्सको माले स्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग १-० ले पराजित भएको हो ।
पहिलो हाफमा मोहम्मद मनिकले गरेको गोल नै निर्णायक बन्यो । ११ औं मिनेटमा बंगलादेशका लागि मोहम्मद मनिकले हेडर गोल गर्दै खेलमा अग्रता बनाएका थिए।
नेपालले दोस्रो हाफमा केहि राम्रो मौका बनाएको थियो। तर सफल भने हुन सकेन। नेपाल लगातार दोस्रोपटक सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको हो। अघिल्लो संस्करण भारतमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिपमा नेपाल २-१ ले पराजित भएको थियो ।
उमेर समूहमा बंगलादेशविरुद्ध नेपालको यो तेस्रो हार हो। सन् २०२४ मा ललितपुरमा सम्पन्न साफ यु-० च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ४-१ ले हराएको थियो। त्यो नेपालविरुद्ध बंगलादेशको ऐतिहासिक पहिलो जित थियो। नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल पुगेको थियो।
बंगलादेशले दोस्रो सेमिफाइनल समूह ‘बी’ को विजेता भारत र समूह ‘ए’ को उपविजेता भुटान बीचको खेलको विजेता टिमसँग खेल्नेछ ।




















