काठमाडौं । भोलि चैत १९ गतेेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अनुसार बिहीबारदेखि सुरु हुने परीक्षाको तयारी पूरा भएको हो ।
एसईई परीक्षा शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता हुनुपर्ने थियो तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा सारिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार सम्पूर्ण प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । केन्द्राध्यक्षहरू पनि नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगेका छन् । परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटिएको छ । यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा पनि छ ।
बोर्डका अनुसार ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । पहिलो दिन भोलि अंग्रेजीको परीक्षा हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
परीक्षा सकिएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्नका लागि परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षणको व्यवस्था गरिएको छ । केन्द्राध्यक्षको निगरानीमा उत्तरपुस्तिका परीक्षण गर्ने तयारी छ ।
जुन परीक्षा केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को ठाउँबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए र सोही अनुसार १ महिनाभित्र सार्वजनिक गर्नेगरी बोर्डले काम गरेको हो ।



















