काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उपहार आदानप्रदान भएको छ।
भेटका क्रममा मोदीले प्रधानमन्त्री शाहलाई गंगाजल राखिएको कलश उपहार दिएका छन् भने शाहले मोदीलाई पशुपतिनाथ मन्दिरसँग सम्बन्धित धार्मिक सामग्री प्रदान गरेका छन्।
प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टाभित्र राखेर मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन उपहार दिएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त उपहार शाहले व्यक्तिगत रूपमा प्रदान गरेका हुन्।
त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले शाहलाई गंगाजलसहितको घडा उपहार दिएका छन्।
यसैबीच, भारतस्थित नेपाली दूतावासका तर्फबाट पनि मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दुवै प्रधानमन्त्रीबीच भएको उपहार आदानप्रदानले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई प्रतिबिम्बित गरेको छ।




















