काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशमा राजनीतिक तनाव चुलिएको छ। प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन्।
पछिल्ला दुई दिनमा बंगलादेशका २८ जिल्लामा हिंसात्मक घटना भएका छन्। सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी गरिएको छ।
त्यस्तै, चटगाउँस्थित युनुसको पैतृक घरमा समेत अज्ञात समूहले आगो लगाएको छ। ढाकामा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको समाचार छ।
२८ जिल्लामा बम विस्फोट, चार जनाको मृत्यु
बंगलादेशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन्। विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ।
हिंसात्मक घटनामा राजधानी ढाकामा कम्तीमा चार जना घाइते भएका छन्। पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले बीएनपीको र्यालीमाथि गरेको आक्रमणमा दुई स्थानीय नेताको मृत्यु भएको छ।
त्यस्तै, फरीदपुर र पिरोजपुरमा एक बीएनपी नेता र एक यातायात मजदुरको पनि ज्यान गएको समाचारमा जनाइएको छ।
हसिनाको स्वदेश फर्किने घोषणापछि तनाव
अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्ड सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन्। यसै महिनाको सुरुवातमा उनले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा स्वदेश फर्किने घोषणा गरेकी थिइन्। त्यसयता बंगलादेशमा राजनीतिक तनाव बढ्दै गएको हो।
मंगलबार हसिनाको गृहनगर तुंगिपारामा उनका समर्थक भएको आशंकामा करिब ३० जना पक्राउ परेपछि सयौं प्रदर्शनकारीले प्रहरी चौकी घेराउ गरेका थिए। प्रदर्शनकारीको घेराउपछि प्रहरीले चौकी खाली गर्नुपरेको थियो।
यसैबीच, प्रधानमन्त्री तारिक रहमानले बुधबार राति अवामी लिगलाई ‘आतंकवादी संगठन’ र ‘पराजित फासिस्ट शक्ति’ को संज्ञा दिँदै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
मंगलबार राति संसद्लाई सम्बोधन गर्दै उनले सन् २०२४ को आन्दोलनको भावनाअनुसार फेरि एकजुट भएर निरंकुश शक्तिलाई निर्णायक रूपमा पराजित गर्नुपर्ने बताएका थिए।
द डेली स्टारका अनुसार रहमानले सरकारी संयन्त्रमा मात्रै निर्भर नभई सांसदहरूलाई सडकमा समेत सक्रिय हुन आग्रह गरेका छन्।
सुरक्षा व्यवस्था कडा, ढाकाबाट ५६५ जना पक्राउ
बढ्दो हिंसा नियन्त्रण गर्न सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। हसिनाको जन्मस्थान गोपालगञ्जसहित विभिन्न जिल्लामा अर्धसैनिक बल बोर्डर गार्डका हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रहरीले पछिल्लो २४ घण्टामा राजधानी ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हसिना नेतृत्वको मन्त्रिपरिषद्का पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत छन्।
गृहमन्त्री सलाहुद्दिन अहमदले अडियो तथा भिडियो प्रमाणका आधारमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने बताएका छन्।
सन् २०२४ मा हसिना नेतृत्वको सरकार ढलेपछि युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो। त्यस अवधिमा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको ढाकास्थित धानमण्डी निवास तथा सन् १९७१ को मुक्ति संग्रामसँग सम्बन्धित स्मारकहरूमा समेत तोडफोड र विध्वंसका घटना भएका थिए।
पछिल्ला घटनाले बंगलादेशमा राजनीतिक अस्थिरता फेरि गहिरिँदै गएको र सुरक्षा चुनौती बढेको संकेत गरेको छ।




















