काठमाडौँ । चीनले पहिलोपटक विद्युतीय व्यावसायिक विमानको सफल परीक्षण उडान गरेको छ।
कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) का अनुसार सीई–२५ए नामक विद्युतीय विमानले शनिबार बिन्झाउमा पाइलटसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो।
पिपुल्स डेलीका अनुसार परीक्षण उडानमा दुई पाइलट र एक इन्जिनियर सहभागी थिए। उडानका क्रममा विमानले सामान्य रूपमा काम गरेको र सबै कार्यसम्पादन सूचकले अपेक्षाअनुसार नतिजा दिएको जनाइएको छ।
कोम्याकका अनुसार सीई–२५ए विमान अन्तरसहरी व्यावसायिक उडानका लागि डिजाइन गरिएको हो। यसले एकपटकमा १९ जना यात्रु बोक्न सक्नेछ भने १० टनसम्मको तौल वहन गर्न सक्ने क्षमता राख्छ।
यो विमान प्रतिघण्टा ३०० किलोमिटरको गतिमा उड्न सक्छ। यसको अधिकतम उडान उचाइ २ हजार ४०० मिटर र उडान दूरी ४०० किलोमिटर रहेको कोम्याकले जनाएको छ।
(तस्बिर : पिपुल्स डेली)




















