काठमाडौं । भारतले नेपाललाई दिने घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण हुने भएको छ। ऋणको ब्याज अब अमेरिकी डलरको सट्टा भारतीय रुपैयाँ (भारु) मा तिर्न सकिने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै देशका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा सहायता रकमको विवरण उल्लेख गरिएको हो।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेका थिए। उक्त सहायता नेपालको पुनर्निर्माण, पूर्वाधार विकास तथा ऊर्जा क्षेत्रका परियोजनामा परिचालन गरिने जनाइएको छ।
संयुक्त विज्ञप्तिअनुसार विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि भारतले ५६ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ। त्यस्तै, ऊर्जा क्षेत्रका परियोजनाका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट) उपलब्ध गराइनेछ।
यसअघि भारतबाट प्राप्त ऋणको ब्याज अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार भारतीय रुपैयाँमा ब्याज भुक्तानी गर्न सकिने भएपछि नेपाललाई विनिमय जोखिम कम हुनुका साथै ब्याज भुक्तानीमा समेत सहज हुने अपेक्षा गरिएको छ।
नेपालको विकास, पुनर्निर्माण तथा पूर्वाधार विस्तारमा उक्त सहायता परिचालन गरिने भए पनि कुन परियोजनामा कति रकम खर्च गर्ने र सहयोग कार्यान्वयनको प्रक्रिया के हुने भन्ने विषय दुई देशबीचको आपसी परामर्शबाट टुंगो लगाइने संयुक्त विज्ञप्तिमा उल्लेख छ।




















