काठमाडौं । जय ट्रफी मेन्स इलिट कप–२०८२ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । माथिल्लो मूलपानी मैदानमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै साविक विजेता पुलिसले उपाधि रक्षा गरेको हो ।
पहिलो इनिङ्समा दुवै टोलीले २२१ रन बनाएका थिए । दोस्रो इनिङ्समा जितका लागि २२७ रनको लक्ष्य पछ्याएको पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया सत्रपछि पूरा गर्यो । पुलिसले ५६.४ ओभरमा २ सय ३० रन बनाउँदै पुरा गरेको हो । गत वर्ष वीरगञ्जमा पुलिसले आर्मीलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
पुलिसका लागि दिलशाद अली ५७ बल खेली ४ चौका र १ छक्का प्रहार गरी ३१ र शंकर राना ८ बल खेली २ चौका प्रहार गरी १३ रनमा अविजित रहे । अमित श्रेष्ठ शून्य र दिनेश खरेल २५ रनमा आउट भएपछि रशिद र कुशलले तेस्रो विकेटमा ठोस साझेदारी गरे । कुशलले ५१ र रशिदले ८१ रन बनाए । कुशलले ६४ बल खेली ५ चौका र रशिदले १ सय २८ बल खेली ८ चौका र ३ छक्का प्रहार गरे ।
आर्मीका लागि बलिङतर्फ साहब आलम र पवन कार्कीले २–२ विकेट लिए । आकाश चन्द, भीम सार्कीले १–१विकेट लिए । त्यसअघि, दोस्रो इनिङ्समा आर्मीले ७४.२ ओभरमा २२६ रन बनाएको थियो । आर्मीको लागि आकाश चन्द र साहब आलमले नवौं विकेटको लागि ४७ रनको साझेदारी बनाएका थिए । साहब आलमले ३३ र आकाश चन्दले ३७ रन बनाए । उनले १०२ बलमा ५ चौका प्रहार गरेका थिए । भिम सार्कीले ३२ र कुशल मल्लले ३६ रन बनाए ।
पुलिसका लागि सागर ढकालले ४ विकेट लिँदा करण केसी र ललित राजवंशीले ३–३ विकेट लिए । पहिलो इनिङ्समा आर्मीले ५८.२ ओभरमा २२१ रन बनाएको थियो । आर्मीका लागि इम्रान शेखले ५० रन बनाएका थिए । तृतराज दासले ३२ रन बनाए । भिम सार्कीले ३९, वसिर अहमदले ३०, कुशल मल्लले३८ रन बनाए । जसमा बलिङ तर्फ पुलिसका रासिद खानले ४ विकेट लिए । करण केसी र ललित राजवंशीले ३–३ विकेट लिए ।
पहिलो इनिङ्समा आर्मीले दिएको २२२ को लक्ष्य पछ्याएको पुलिसका लागि करण केसी ७२ रनमा अविजित रहेका थिए । उनले १०९ बलमा ७ चौका र २ छक्का प्रहार गरे। आरिफ शेखले ४४ र ललित राजवंशीले २० रन बनाए । आर्मीका लागि पहिलो इनिङ्समा सोमपाल कामीले ५ विकेट लिए । आकाश चन्दले २ विकेट लिँदा साहब आलम, पवन कार्की र नरेन साउदले १–१ विकेट लिए ।




















