काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेता चयन भएका रामबहादुर थापा ‘बादल’ ले कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत पाएका छन् । संसदीय दलका नेता चयन भएका बादललाई पार्टीले कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी दिने निर्णय गरेको एमाले नेता ऐनबहादुर महरले जानकारी दिएका छन् ।
संसदीय दलको नेता हुँदै कार्यवाहक अध्यक्ष बनेका बादल समानुपातिक सांसद हुन् । माओवादी पृष्ठभूमिका थापा पछिल्लो समय अध्यक्ष ओलीका विश्वासपात्र बनेका छन् । जेनजी आन्दोलन छानविन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि आज एमालेको वैठक बसेको हो । ओली अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा छन् । उनीसँगै पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि पक्राउ परेका थिए ।
एमाले निर्वाचन कमिटीले बादल निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । संसदीय दलको नेताका लागि एक जनाको मात्रै उम्मेदवारी परेपछि बादल निर्विरोध निर्वाचित भएका थिए । एमाले संसदीय दलको बैठकमा बादललाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको थियो । तर, सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए ।
संसदीय दलको बैठकमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको थियो । एमालेले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटी चुनावी प्रक्रिया सुरु गरेको थियो । तर, अन्तिममा आएर सुहाङले उम्मेदवारी दिएनन् । उनी नै बादलको प्रस्ताव बनेका थिए । एउटा मात्रै उम्मेदवारी परेपछि बादल निविरोध निर्वाचित भएको घोषणा गरिएको हो । प्रतिनिधि सभामा एमालेका २५ सांसद छन् ।



















