सुनसरी । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बसाहा क्लब उदयपुरले जितेको छ ।
इटहरीस्थित जनता कलेजको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा बसाहा क्लबले लोहोरुङ् एफसी सङ्खुवासभालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बसाहा क्लबले रु चार लाख चार हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता लोहोरुङ् एफसीले रु दुई लाख दुई हजार पुरस्कार प्राप्त गरेको छ ।
बसाहा क्लबका रितेश तामाङ्ले खेलको २६औँ मिनेटमा गरेको गोल नै आजको खेलको निर्णायक बन्यो । आजको खेलमा उत्कृष्ट खेलाडी तामाङ नै घोषित भए । उनले रु २० हजार पुरस्कार प्राप्त गरे । खेलको ‘म्यान अफ दी म्याच’ लोहोरुङ् एफसीका मिलन लिम्बु घोषित भए । उनले रु पाँच हजार पाँच सय पुरस्कार पाए ।
यसैगरी, बसाहा क्लबका मञ्जिल खड्का उत्कृष्ट डिफेन्सर, लोहोरुङ् एफसीका विवेक राई उत्कृष्ट मिडफिल्डर’ बसाहा क्लबकै केशव राई उत्कृष्ट प्रशिक्षक, आयोजक द योङग ब्रदर्श क्लबका सविन घिमिरे उदीयमान खेलाडी तथा बसाहा क्लबका सन्दीप भट्टराई उत्कृष्ट गोलकिपर घोषित भए । उनीहरुले जनही रु १० हजार पुरस्कार पाए ।
गत फागुन ३० गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा केराबारी फुटबल क्लब मोरङ, जलथल फुटबल क्लब हल्दिबारी झापा, लोहोरुङ् एफसी सङ्खुवासभा, चुतन स्पोर्टिङ क्लब तेह्रथुम, बसाहा क्लब उदयपुर, न्यू स्टार क्लब बराहक्षेत्र, आयोजक द योङग ब्रदर्श क्लब तथा भारतको कञ्चनजङ्घा फुटबल क्लबको सहभागिता रहेको थियो ।




















