काठमाडौं । नेपाल साफ यू २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा जारी प्रतियोगितामा घरेलु टिम माल्दिभ्ससँग १-१ बराबरी खेल्दै नेपाल समूह ‘ए’ बाट सेमिफाइनल प्रवेश गरेको हो ।
यसअघि नेपालले लगातार दुई खेल जित्दै सेमिफाइनलको स्थान पक्का गरिसकेको थियो । नेपालले तीन खेलबाट ७ अंक जोड्दै शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्ने पक्का भएको हो । खेलको पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा बराबरी गोल फर्कायो ।
खेलको १४औं मिनेटमा माल्देप्सका लागि मोहमेद इमरानले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रतामा राखेका थिए । खेलकुद ८६ औं मिनेटमा नेपालका लागि निशानराज लावतले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । त्यसपछि दुवै टोलीले मौका बनाए पनि गोल भने गर्न सकेनन् ।
नेपालले पहिलो खेलमा भुटानलाई २-१ ले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । त्यस्तै आजको खेलमा नेपालसँग बराबरी खेलेसँगै घरेलु टोली माल्दिभ्सको सेमिफाइनल खेल्ने सम्भावना सकिएको हो ।




















