रोल्पा । नेपालको चुनावी राजनीतिमा प्रायः भविष्यका वाचा, योजना र आकर्षक नाराहरू हाबी हुने गरेका छन्। तर रोल्पाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वर्षमान पुन अनन्तले यसपटक फरक शैली अपनाएका छन्। उनले भविष्यका प्रतिबद्धताभन्दा विगतमा सम्पन्न कामलाई आधार बनाएर मत माग्ने रणनीति अघि सारेका छन्।
तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका पुनले “के गर्ने” भन्दा “के गरियो” भन्ने बहसलाई केन्द्रमा राखेका छन्। उनका चुनावी सामग्रीहरूमा सडक विस्तार, विद्युत् पहुँच वृद्धि, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरण, खानेपानी, सिँचाई, विद्युतीकरण, स्थानीय कनेक्टिभिटी विस्तार र संघीय बजेटमार्फत ल्याइएका योजनाहरूलाई तथ्य र तथ्याङ्कसहित प्रस्तुत गरिएको छ।
विशेषगरी भिडियो सामग्रीमार्फत प्रमाणसहित उपलब्धि देखाउने प्रयासलाई रोल्पामा नयाँ अभ्यासका रूपमा हेरिएको छ। उनले ती भिडिओहरुलाई आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिरहेका छन्।
राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित पुनको भूमिकाबारे विगतमा बहस हुँदै आएको थियो। अर्थ, पूर्वाधार र नीतिगत छलफलमा सक्रिय रहे पनि जिल्लामा ठोस काम नदेखिएको भन्ने आलोचना उनीमाथि सुनिँदै आएको थियो। यसपटक भने उनले त्यही धारणा तोड्ने गरी विकासका काम सार्वजनिक गरेका छन्।
रोल्पा ऐतिहासिक रूपमा राजनीतिक चेतना र परिवर्तनको केन्द्र मानिन्छ। यहाँ मतदाता अपेक्षाकृत सचेत र परिणाममुखी रहेको विश्लेषकहरू बताउँछन्। यस्तो सन्दर्भमा “काम देखाएर मत माग्ने” अभ्यासले चुनावी विमर्शलाई भावनात्मक नाराबाट तथ्यमा आधारित मूल्यांकनतर्फ मोड्ने संकेत दिएको छ।
पुनले आफ्नो कार्यकालको मूल्यांकन तथ्यका आधारमा गर्न मतदातासमक्ष आग्रह गरेका छन्। यसले चुनावी प्रतिस्पर्धालाई आरोप–प्रत्यारोपभन्दा बाहिर निकालेर उपलब्धि–केन्द्रित बहसतर्फ लैजाने प्रयासका रूपमा बुझिएको छ।
नेता पुन भन्छन्, ‘जनतालाई अब भविष्यका सपना बाँडेर मात्रै हुँदैन, विगतमा जनप्रतिनिधिको भूमिकाम रहँदा के गरियो भनेर तथ्यगत रुपमा बताउनुपर्दछ भन्ने लागेर नै मैले यो अभियान सुरु गरेको हुँ। यसले नेपाली राजनीतिमा पनि नयाँ परम्पराको विकास हुने विश्वास लिएको छु।’




















