काठमाडौं । पर्वतारोहण तथा पदयात्रा क्षेत्रमा गरिएको ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि सन्दीप तिवारी (२८) र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह (५६) लाई पक्राउ गरेको हो।
धादिङको ज्वालामुखी गाउँपालिका–२ का तिवारी मङ्गलबार र काठमाडौं महानगरपालिका–३१ का सिंह आज पक्राउ परेका हुन्। यस प्रकरणमा हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमा कम्पनीका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका सञ्चालकसहित नौ जना पक्राउ परिसकेको ब्युरोले जनाएको छ।
अनुसन्धानका क्रममा अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्रामा गएका विदेशी पर्यटकलाई झुट्टा रूपमा उद्धार गरेको देखाई बीमा रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ लिएको खुलेको ब्युरोले जनाएको छ।





















