रुपन्देही । प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा एमालेका ठाकुर गैरेले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्रलाई पाल्पाको समग्र रूपान्तरणको कार्ययोजना भन्दै उनले जनताको जीवनस्तर उकास्ने स्पष्ट लक्ष्य प्रस्तुत गरेका हुन्।
घोषणापत्रमा पाल्पालाई आर्थिक, सामाजिक र भौतिक विकासका दृष्टिले आत्मनिर्भर बनाउने उद्देश्य उल्लेख गरिएको छ। विगतमा विकासका अवसर केही क्षेत्रमा सीमित हुँदा धेरै बस्ती पछि परेको बताउँदै गाउँ–नगर, धनी–गरिब र केन्द्र–परिधिबीचको असमानता घटाउने प्रतिबद्धता जनाइएको छ।
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको घोषणापत्रमा सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक दरबन्दी व्यवस्थापन, प्रविधिमैत्री शिक्षण प्रणाली र प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गर्ने योजना समेटिएको छ। गरिब, दलित, महिला तथा पिछडिएका समुदायका विद्यार्थीका लागि लक्षित छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा परिभाषित गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा पुर्याउने योजना अघि सारिएको छ। अस्पताल र स्वास्थ्य चौकीको भौतिक संरचना सुधार, चिकित्सक तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था, निःशुल्क तथा सहुलियतपूर्ण उपचार र मातृ–शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता गरिएको छ।
कृषि तथा पशुपालन क्षेत्रलाई रोजगारी र आम्दानीको मुख्य आधार बनाउने लक्ष्यसहित आधुनिक कृषि प्रणाली, सिँचाइ विस्तार, बीउबिजन र मलमा अनुदान, किसानलाई तालिम तथा बजार सुनिश्चित गर्ने कार्यक्रम घोषणापत्रमा समावेश गरिएको छ। युवालाई कृषितर्फ आकर्षित गर्न सहुलियत ऋण र उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
रोजगारी सिर्जनालाई महत्वपूर्ण एजेण्डा बनाउँदै स्थानीय उद्योग, पर्यटन, कृषि र साना व्यवसाय प्रवर्द्धन गरी वैदेशिक रोजगारीमा जाने बाध्यता घटाउने प्रतिबद्धता व्यक्त गरिएको छ। सीपमूलक तालिममार्फत युवालाई आत्मनिर्भर बनाउने नीति अघि सारिएको छ।
भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल विस्तार, ग्रामीण बस्तीलाई सदरमुकाम र बजारसँग जोड्ने योजना, सुरक्षित खानेपानी, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ। दिगो तथा वातावरणमैत्री विकासलाई प्राथमिकता दिइने जनाइएको छ।
घोषणापत्रमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई विशेष महत्व दिइएको छ। सार्वजनिक खर्चमा मितव्ययिता, भ्रष्टाचार नियन्त्रण, योजनामा जनसहभागिता र जनप्रतिनिधिको नियमित सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता गरिएको छ।
संघीय लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउँदै स्थानीय तह, प्रदेश र संघबीच समन्वय बढाउने, नागरिकको आवाजलाई निर्णय प्रक्रियामा समेट्ने र लोकतान्त्रिक मूल्य–मान्यतालाई बलियो बनाउने विषय घोषणापत्रको मूल भावका रूपमा प्रस्तुत गरिएको छ।
घोषणापत्र सार्वजनिक गर्दै गैरेले यसलाई कागजी प्रतिबद्धता मात्र नभई जनतासँगको करार भएको दाबी गरे। ‘पाल्पाको विकासका लागि बोल्ने होइन, गरेर देखाउने समय आएको छ,’ भन्दै उनले जनताको विश्वास र समर्थन मागे। साथै, पर्यटन क्षेत्रलाई रोजगारीको प्रमुख स्रोत बनाउँदै पाल्पाको समृद्धिमा योगदान पुर्याउने योजना अघि सारे।




















