हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मकवानपुर जिल्ला सभापति पद त्यागेर नेपाली कांग्रेसमा पुनः प्रवेश गरेका भरतप्रसाद पराजुलीले रास्वपाभित्र लोकतान्त्रिक अभ्यास कमजोर रहेको आरोप लगाएका छन्।
बुधबार बिहान कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पराजुलीले रास्वपामा केन्द्रीय नेताबाहेक अन्यले आफ्ना धारणा राख्न नसक्ने अवस्था रहेको दाबी गरे। उनका अनुसार पार्टीभित्र केन्द्रीय नेतृत्वका निर्णयमात्र स्वीकार्य हुने र तल्लो तहका नेता–कार्यकर्तालाई बोल्नसमेत कठिनाइ हुने स्थिति थियो।
पार्टीभित्र काम गर्दै जाँदा अपेक्षा गरेअनुसार स्पष्ट सिद्धान्त, दृष्टिकोण र दीर्घकालीन योजना नदेखिएको उनले बताए। ‘पुराना दललाई ठोक्ने र भ्रष्टाचारमुक्त बनाउने भाषण मात्रै रहेछ,’ पराजुलीले भने, ‘देश बनाउने ठोस योजना, कार्यविधि र दीर्घकालीन खाका देखिएन। रास्वपा सामाजिक सञ्जाल र भाषणमा जति लोकतान्त्रिक देखिन्छ, व्यवहारमा त्यस्तो रहेन। निर्णय प्रक्रियामा पारदर्शिता थिएन, जनमूल्यांकनको प्रणाली पनि कमजोर रहेछ।’
कांग्रेसमा खुलेर बोल्ने संस्कारमा राजनीति गरेको आफू रास्वपामा गएपछि साढे तीन वर्षसम्म बोल्नै नपाइने अवस्थामा बसेको उनले गुनासो गरे। रास्वपाको संरचना लोकतान्त्रिक प्रणालीअनुसार सञ्चालन नभएको र आन्तरिक बहस–संवादको संस्कार कमजोर रहेको निष्कर्षमा पुगेपछि पुरानै पार्टीमा फर्किएको उनको भनाइ छ।
आफ्नो राजनीतिक पृष्ठभूमि, पसिना र योगदान कांग्रेससँग जोडिएको उल्लेख गर्दै पराजुलीले फर्किन कुनै असजिलो नलागेको बताए। ‘कांग्रेसमा कमजोरी थिए, तर त्यो कमजोरीसँग भित्रै बसेर लड्नुपर्ने थियो,’ उनले भने, ‘त्यतिबेला मेरो स्वभावले त्यो गर्न सकेन, अहिले सम्झँदा पछुतो लाग्छ।’
वर्तमान कांग्रेस नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनले विशेषगरी गगन थापा नेतृत्वमा युवाहरूको क्षमतावान् टिम बनेको र पार्टी सुधारको दिशामा अघि बढिरहेको दाबी गरे।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजुली मकवानपुर–२ बाट रास्वपाका तर्फबाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा प्रत्यक्षतर्फ उनका पक्षमा १४ हजार मत खसेकामा १२ हजार ५९ मत सदर भएको थियो।




















